नेतृत्व नछाडने अडानमा ओली कायमै, पुनर्गठनको माग गर्नेलाई कारबाहीको चेतावनी



जनकपुरधाम, भदौ १। प्रतिनिधिसभा निर्वाचनको लज्जास्पद हार पछि नेकपा एमालेमा पुनर्गठनको हल्ला चलेपनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाडने अडान कायमै राखेका छन । २१ फागुनको निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका ओलीले पार्टी पुनर्गठनको माग गर्दै अघि बढेको अभियानप्रति कडा असन्तुष्टि जनाउँदै नेतृत्व परिवर्तनको प्रयास स्वीकार्य नहुने बताएका हुन्।

एमाले झापाले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउन नसकिने बताए। उनले पार्टीभित्र यस्तो शैली सह्य नहुने भन्दै पुनर्गठन अभियान चलाउनेहरूमाथि कारबाहीको संकेतसमेत गरेका छन।

ओलीले आफू विगतमा पनि पार्टीभित्रका चुनौती सामना गर्दै नेतृत्वमा आएको स्मरण गर्दै अहिले अध्यक्षबाट हटाउने प्रयास पनि सफल नहुने बताए। उनका अनुसार अहिले उठाइएको पार्टी पुनर्गठनको विषय सिंगो एमालेको पुनर्गठन नभई कुनै जनसंगठन वा कमिटीको पुनर्गठन हुनसक्ने विषय हो।

सचिवालयमा समेत अल्पमतमा परेका अध्यक्ष ओली गृह जिल्ला झापाबाट आफूलाई अध्यक्षबाट हटाउने चर्चा गर्नेहरूप्रति असन्तुष्टि जनाएका छन । उनले पुनर्गठनको बहस गर्ने केही नेता–कार्यकर्तालाई ‘आवारा’को संज्ञा समेत दिएका थिए।

ओलीनिकट नेता महेश बस्नेतले पनि पुनर्गठन पक्षधरलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्। उनले नेतृत्वविरुद्ध गतिविधि गर्ने समूहलाई ‘लामखुट्टे’को उपमा दिएका छन्।

बिर्तामोडमा ओलीले एमालेबाट लाभ लिएका केही व्यक्ति अहिले पुनर्गठनको नाममा सक्रिय भएको आरोप लगाउँदै ‘किर्ना’को संज्ञा दिए। साथै पार्टीलाई मतदान नगर्ने सदस्यको सदस्यता नवीकरण नगर्न पनि उनले निर्देशन दिएका छन्।

एमाले भित्र पुनर्गठनको बहस चलि रहेका बेला ओली र उनका पक्षधहरुको पछिल्लो अभिव्यक्तिले एमालेृ भित्रको आन्तरिक द्वन्द अझै गहिरिने संकेत गरेको छ । विगतमा अध्यक्ष निकट रहदै आएका नेताहरु समेत पुनर्गठनको पक्षमा अभियान चलाई रहेका छन भने महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर अभियान मार्फत पार्टी पुनर्गठनको माग गर्दै आएका छन ।

 

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार ०७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको