जनकपुरधाम, भदौ १ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज जनकपुर सहित देशभर धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाइँदैछ। यस अवसरमा नागको पूजा गरी घरको मूलढोकामा नागको चित्र टाँस्ने तथा दूध, अक्षता, दुबो, लावा, खीर र रोटी लगायतका सामग्री चढाउने चलन छ।
सनातन परम्परामा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको विशेष पूजा गर्ने गरिन्छ। नागको पूजा गरेमा सर्पदंश तथा विभिन्न विपत्तिबाट रक्षा हुने, परिवारमा सुख–शान्ति कायम हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
नाग पंचमीको अवसरमा जनकपुरधाम स्थित विषहरा मन्दिरमा विशेष पूजाको तैयारी गरिएको छ । जनकपुरधाम ४ स्थित विषहरा मन्दिरमा नागपञ्चमीको पूजाको लागि एक महिना अघि देखी नै आयोजक समितिले तयारी शुरु गरेका थिए । समितिका अनुसार आज दिउसो ११ बजे देखी विशेष पूजा हुने छन ।
त्यसैगरि नागवंशी समाजले जानकी मन्दिर क्षेत्रमा पूजाको तयारी गरेको छ । नाग पूजाको लागि जानकी मन्दिरको दक्षिण साइडमा पण्डाल निर्माण गरि पूजाको तयारी गरिएको नागवंशी समाजले जनाएको छ।
धार्मिक र सांस्कृतिक महत्त्वसँगै नाग पञ्चमीको पर्यावरणीय पक्ष पनि महत्वपूर्ण छ। सर्पले मुसा, भ्यागुता लगायतका जीवको संख्या नियन्त्रण गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न भूमिका खेल्छन्। त्यसैले सर्पप्रति संरक्षण र सहअस्तित्वको भावना विकास गर्नु जैविक विविधता संरक्षणका दृष्टिले पनि उपयोगी मानिन्छ।
यसरी नाग पञ्चमी धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र प्रकृति संरक्षणको चेतनालाई जोड्ने महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।






