एजेंसी, भदौ २। अमेरिका र इरानबीच पश्चिम एसियामा तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्ने विषयमा छलफल गरिरहेको दाबी सार्वजनिक भएको छ । पूर्वअमेरिकी सांसद तथा ट्रम्प समर्थक मार्जरी टेलर ग्रिनले यस्तो दाबी गरेकी हुन् ।
ग्रिनले सामाजिक सञ्जाल एक्समार्फत ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले इरानविरुद्ध परमाणु हतियार प्रयोगको सम्भावनाबारे रणनीतिक बैठक गरिरहेको दाबी गरेकी छन् । तर उनले आफ्नो दाबी पुष्टि गर्ने कुनै दस्तावेज वा प्रमाण सार्वजनिक गरेकी छैनन् । अमेरिकी सरकार वा रक्षा अधिकारीहरूले पनि त्यस्तो योजनाको सार्वजनिक रूपमा पुष्टि गरेका छैनन् ।
ग्रिनले अमेरिकी प्रशासनले आफ्नै गुप्तचर निकायको मूल्यांकनभन्दा इजरायलको इरानी परमाणु कार्यक्रमसम्बन्धी चेतावनीलाई बढी महत्व दिएको आरोपसमेत लगाएकी छन् ।
यसैबीच, अमेरिका र इरानबीचको तनाव होर्मुज जलडमरूमध्यलाई लिएर समेत बढेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवाद समाधान गर्ने प्रयासमा ओमानले अवरोध गरेमा उसमाथि कडा कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।
उता, इरानले होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्न ओमानसँग वार्ता भइरहेको जनाएको छ । विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गका रूपमा रहेको होर्मुजमा तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा समेत चिन्ता बढेको छ ।
अमेरिका–इरानबीच जुन १७ मा भएको प्रारम्भिक समझदारीको ६० दिने अवधि सोमबार सकिएको छ । समझदारी प्रभावहीन बनेपछि दुवै पक्षबीच तनाव थप बढेको बताइएको छ ।
ट्रम्प प्रशासनले इरानलाई परमाणु हतियार विकास गर्न नदिनुलाई आफ्नो प्रमुख प्राथमिकता बताउँदै आएको छ । तर इरानले अमेरिकी दबाब र नाकाबन्दीको विरोध गर्दै आवश्यक परे आफ्नो नीति रक्षात्मकबाट आक्रामक बनाउन सक्ने चेतावनी दिएको छ ।
यस परिस्थितिमा परमाणु हतियार प्रयोगसम्बन्धी सार्वजनिक दाबीले क्षेत्रीय तनाव अझ गम्भीर बन्न सक्ने चिन्ता बढाएको छ । यद्यपि, अमेरिकी प्रशासनले इरानविरुद्ध परमाणु हमला गर्ने कुनै निर्णय गरेको पुष्टि हालसम्म गरेको छैन ।






