जनकपुरधाम, भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई टुक्र्याएर प्रतिस्पर्धा सीमित गरिएको थियो ।
अनुसन्धानका क्रममा एउटै प्रकृतिको सामान पटक–पटक खरिदका नाममा विभाजन गरी विभिन्न आपूर्तिकर्तासँग मिलेमतोमा भुक्तानी गरिएको देखिएको आयोगले जनाएको छ ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नीलाम्बर मिश्र मैथली र तत्कालीन लेखापाल विजयकुमार यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो मागदाबी गरेको छ ।
त्यस्तै, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव र सब–इन्जिनियर विपिनकुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिवशङ्कर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ ।
तत्कालीन योजना शाखा प्रमुख गङ्गाराम यादवविरुद्ध पनि ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ ।
खरिद प्रक्रियामा संलग्न आपूर्तिकर्ताविरुद्ध पनि आयोगले बिगो तथा कानुनबमोजिम सजायको मागदाबी गरेको छ । लीला आयरन स्टोर्सका प्रोप्राइटर विनयकुमार यादवविरुद्ध ५ लाख ३४ हजार ८७६ रुपैयाँ, डिएम जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर दूधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४७१ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
त्यसैगरी, श्रीराम इन्टरप्राइजेजका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध २ लाख २० हजार १९७ रुपैयाँ, जैसवाल निर्माण सेवा ९सिर्जना ट्रेडर्स०का प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध ७ लाख ९ हजार ६२३ रुपैयाँ र क्वालिटी सोलुसन कम्पनी प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध ७ लाख ११ हजार ९०० रुपैयाँ बिगो कायम गरिएको छ ।
आयोगले राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा आपूर्तिकर्ताविरुद्ध सोही ऐनको दफा २२ बमोजिम मतियारका रूपमा कसुर गरेको आरोप लगाएको छ ।
आरोपपत्रमा दोषी ठहर भएमा कानुनबमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको अख्तियारले जनाएको छ






