मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते



सप्तरी, भदौ २ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवाका करिब ३५ वर्षीय ओम साफी रहेका छन् । दुर्घटनामा सोही ठाउँका २० वर्षीय मञ्जय साफी घाइते भएका छन् ।

प्रहरीका अनुसार सोमबार साँझ सुनसरीबाट सप्तरीतर्फ आउँदै गरेको को ६ प ६०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई कोशी ब्यारेज पुलमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ओम साफीको भारदहमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।

घाइते मञ्जय साफीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको