सर्लाही, भदौ ३ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ पोखरियामा कृषि सडकसम्बन्धी लामो समयदेखिको विवादका कारण स्थानीय किसान समस्यामा परेका छन्। सडकको प्रवेशद्वारमा रहेको जग्गाको विवाद बढ्दै गएपछि केही दिनअघि बिजुलीको पोलसमेत हटाइएपछि किसानको सिँचाइ सेवा प्रभावित भएको हो।
किसानहरूको भेलाबाट निर्णय गरी २०७७ सालमा बबरगन्ज–पोखरिया सडकसँग जोडेर पूर्वतर्फ करिब एक किलोमिटर कृषि सडक खोलिएको थियो। खेतसम्म सहज पहुँच पुर्याउने उद्देश्यले खोलिएको सडक अहिले पनि नियमित रूपमा सञ्चालन हुन सकेको छैन।
किसान र वडा कार्यालयको पहलमा गत असार २१ गते नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले कृषि सडक क्षेत्रमा सिँचाइका लागि बिजुलीका पोल गाडेर तार तानेको थियो। तर जग्गासम्बन्धी विवादका कारण पोल हटाइएपछि किसानले कृषि मोटर सञ्चालन गर्न पाएका छैनन्।
स्थानीय किसान शिवचन्द्र रायले सडक नहुँदा खेतमा आउजाउ गर्न, ट्र्याक्टर लैजान तथा उत्पादन घरसम्म ल्याउन समस्या हुँदै आएको बताए। सडक खोलिए पनि विवादका कारण प्रयोग गर्न कठिन भएको उनको भनाइ छ।
वडाध्यक्ष राजीव सिंह दनुवारका अनुसार सडक स्तरोन्नतिका लागि दुई वर्षअघि सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। केही ग्राभेल हाले पनि जग्गासम्बन्धी मुद्दा परेपछि उच्च अदालतको ‘स्टे अर्डर’ का कारण काम रोकिएको उनले बताए।
जग्गाधनी किरणकुमारीले भने आफ्नो सहमतिबिनै जग्गाको बीचबाट सडक खोलिएको दाबी गर्दै छेउबाट बाटो दिन आफू तयार रहेको बताएकी छन्। उनका श्रीमान् रामनरेश साहले स्काभेटरले ठक्कर दिँदा बिजुलीको पोल भाँचिएको दाबी गरेका छन्।
स्थानीय किसानका अनुसार सडक र विद्युत् सेवा सञ्चालनमा आए सयौँ बिघा खेतमा सिँचाइ सुविधा पुग्नेछ। विवाद समाधानका लागि पटक–पटक छलफल भए पनि सहमति जुट्न नसक्दा सडक र कृषि विद्युतीकरण दुवै अलपत्र परेका छन्।






