नेपाल-भारत डिजिटल भुक्तानीमा नयाँ सहजता, यूपीआईबाट दुईतर्फी रकम पठाउन सकिने



काठमाडौं, भदौ ३ । नेपाल र भारतबीचको डिजिटल भुक्तानी प्रणाली थप सहज र प्रभावकारी बन्दै गएको छ। भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच अन्तरआबद्धता स्थापना भएपछि दुवै देशबीच तत्कालै व्यक्ति–देखि–व्यक्ति (पी२पी) रकम पठाउन सकिने सुविधा सुरु भएको हो।

नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) का अनुसार नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले क्युआर कोडमार्फत डिजिटल भुक्तानी गर्ने क्रम बढिरहेको छ।

फोनपे नेटवर्कमा आबद्ध नेपाली व्यापारी तथा व्यवसायीले यूपीआई भुक्तानी स्वीकार गर्न सक्ने भएकाले भारतीय पर्यटकलाई नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलमा डिजिटल भुक्तानी गर्न सहज भएको छ। चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरलगायतका स्थानमा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने व्यवस्था छ।

यसबाट भारतीय पर्यटकलाई ठूलो मात्रामा नगद बोक्ने वा मुद्रा सटही गर्ने झन्झट कम भएको छ। नेपाली व्यवसायीका लागि पनि कारोबारलाई छिटो, सुरक्षित र डिजिटल बनाउन सहयोग पुगेको बताइएको छ।

सन् २०२५ मा मात्रै करिब २ लाख ९० हजारभन्दा बढी भारतीय नागरिक नेपाल भ्रमणमा आएका थिए। भारतीय पर्यटकको ठूलो उपस्थिति रहेको अवस्थामा यूपीआई भुक्तानी सुविधाले नेपालका पर्यटन तथा व्यवसायिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसैगरी, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र यूपीआईबीचको सहकार्यपछि नेपाल र भारतबीच दुईतर्फी रियल–टाइम रकम स्थानान्तरणको सुविधा पनि उपलब्ध भएको छ।

अब प्रयोगकर्ताले बैंक खाताको विस्तृत विवरण आदानप्रदान नगरी मोबाइल नम्बर, भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) वा यूपीआई आईडीमार्फत भारतबाट नेपाल र नेपालबाट भारत रकम पठाउन सक्नेछन्।

एनपीसीआई इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले फोनपे र एनसीएचएलसँगको सहकार्यले नेपाल–भारत सीमापार भुक्तानीलाई थप सुरक्षित, छिटो र सहज बनाएको बताएका छन्।

उनका अनुसार यस्तो डिजिटल भुक्तानी प्रणालीले दुई देशबीचको आर्थिक गतिविधिसँगै जनस्तरको सम्बन्धलाई समेत थप मजबुत बनाउन सहयोग गर्नेछ। आगामी दिनमा यो सेवा थप बैंक तथा वित्तीय संस्थामा विस्तार गर्दै लैजाने योजना रहेको एनपीसीआई इन्टरनेसनलले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार ०७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको