काठमाडौं , भदौ ३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र पार्टीका सांसदबीच पछिल्लो समय देखिएको असमझदारी तथा संसदीय गतिविधिबारे छलफल गर्न मन्त्रीसहितको बैठक बोलाएको छ।
बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूसँग पछिल्ला गतिविधिबारे छलफल गर्दै आवश्यक निर्देशन दिने तयारी गरेका छन्।
रास्वपाका एक नेताका अनुसार बैठकमा सरकार र पार्टीका सांसदबीच बढ्दै गएको असमझदारी, संसद्मा सांसदहरूको प्रस्तुतिसहित विभिन्न गतिविधिको समीक्षा गरिनेछ। संसदीय अनुशासन र मर्यादाका विषयमा प्रश्न उठेका सांसदलाई सचेत गराउने विषयमा समेत छलफल हुने बताइएको छ।
पार्टीभित्र सांसदहरूले संसद्मा प्रयोग गर्ने भाषा, प्रस्तुत गर्ने शैली तथा सार्वजनिक गतिविधिमा आवश्यक मर्यादा कायम गर्न नसकेको विषयमा समेत चर्चा भइरहेको छ। यसले सरकार र पार्टीका सांसदबीचको समन्वयमा समेत प्रश्न उठ्न थालेको नेताहरूको भनाइ छ।
यसैबीच, मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद आशिका तामाङ र सभामुख डीपी अर्यालबीच असहज अवस्था सिर्जना भएको थियो।
परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन्। तर सभामुख अर्यालले उनलाई संसदीय मर्यादा र संसद्को गरिमाको ख्याल गर्न सचेत गराउँदै पुनः बोल्न समय दिएनन्।
सभामुखबाट बोल्ने अनुमति नपाएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन्।
उक्त घटनालगायत पछिल्ला गतिविधिलाई समेत आधार बनाएर रास्वपाले पार्टीका सांसद र सरकारबीच समन्वय बढाउने तथा संसद्मा अनुशासन र मर्यादा कायम गर्ने विषयमा छलफल गर्न लागेको हो।






