३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँगै खोजीमा हिँडेका युवक पक्राउ



बारा, भदौ ३ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेमा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालिका बेपत्ता भएपछि प्रहरीसँगै उनको खोजीमा हिँडेका युवकसमेत छन्।

प्रहरीका अनुसार जीतपुरसिमरा–२ का सुमन थापालाई घटनास्थलबाटै पक्राउ गरिएको हो। मंगलबार साँझ तालिमप्राप्त कुकुरसहित घटनास्थलमा अनुसन्धान गरिरहेका बेला कुकुरले संकेत गरेपछि थापालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

प्रहरीका अनुसार थापा वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन्। उनले काम गर्ने ना.१ ज ७७५८ नम्बरको गाडीका चालक प्रोग्रेस चौधरीलाई पनि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक बयानमा थापाले घटनामा आफ्नो मात्र संलग्नता रहेको दाबी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिकाको घर नजिकै चालक चौधरीको घर रहेकाले गरिमा त्यहाँ आउने–जाने गर्थिन्। आइतबार बिहान बेपत्ता भएपछि खोजी गर्ने क्रममा थापा पनि प्रहरी र स्थानीयसँगै घटनास्थल आसपास पुगेका थिए।

आइतबार बिहान करिब साढे ८ बजे बेपत्ता भएकी गरिमाको शव मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढा रहेको लामो समयदेखि खाली घरमा फेला परेको थियो। उक्त घरबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तालिमप्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले खोजी गर्दा शव भेटिएको हो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा थापाले बालिकालाई चालक चौधरीको घरबाट उक्त खाली घरतर्फ लगेको बयान दिएका छन्। घटनापछि शव लुकाउने प्रयास गरेको उनको बयानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाको वास्तविकता थप अनुसन्धान र कानुनी प्रक्रियाबाट खुल्ने प्रहरीले बताएको छ।

गरिमा जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा हालै प्ले ग्रुपमा भर्ना भएकी थिइन्। घटनापछि परिवार शोकमा डुबेको छ।

दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन

बालिकाको हत्या घटनाको विरोधमा स्थानीयले बुधबार सिमरामा प्रदर्शन गरेका छन्। इलाका प्रहरी कार्यालय सिमराअगाडि भेला भएका स्थानीयले घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडकखण्डमा करिब दुई घण्टादेखि यातायात प्रभावित भएको छ। स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा सजाय दिन माग गरेका छन्।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार १५:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको