लोककल्याणकारी विज्ञापन वितरण प्रणाली व्यवस्थित बनाउन सञ्चारमन्त्रीको निर्देशन



काठमाडौं, भदौ ४ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण तथा लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सुधारको काम अघि बढाउन निर्देशन दिएका छन् ।

बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले वास्तविक प्रकाशन तथा वितरण संख्या यकिन गर्ने प्रभावकारी प्रणाली विकास गर्न निर्देशन दिएका हुन् ।

छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्राप्त गर्ने गरेको, वास्तविकभन्दा बढी प्रकाशन संख्या देखाउने तथा प्रेस काउन्सिलमा बुझाइएको विवरण र वास्तविक प्रकाशनबीच फरक हुनेजस्ता समस्या उठाइएको थियो । वर्गीकरणका मापदण्डसमेत थप स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

विभाग र काउन्सिलका अधिकारीहरूले कतिपय पत्रपत्रिकाले काउन्सिलमा पेस गरेको विवरणभन्दा कम संख्यामा प्रकाशन गर्ने गरेको जानकारी दिएका थिए । नमुना छनोट गरी स्थलगत निरीक्षण गर्दा पनि पेस गरिएको विवरण र वास्तविक अवस्थाबीच फरक भेटिने गरेको उनीहरूको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले पत्रपत्रिकाको वर्गीकरणका आधार स्पष्ट बनाउन, वास्तविक प्रकाशन तथा वितरण संख्या प्रमाणित गर्ने व्यवस्था प्रभावकारी बनाउन र लोककल्याणकारी विज्ञापन वितरणलाई विधिसम्मत तथा पारदर्शी बनाउन निर्देशन दिए । सरकारी विज्ञापनमा हुने दोहोरोपन हटाएर सीमित स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

प्रेस काउन्सिल ऐन तथा सम्बन्धित नियमावलीमा पत्रपत्रिकाको वितरण अवस्था परीक्षण, अभिलेख अद्यावधिक र प्रकाशन संख्याका आधारमा वर्गीकरण गर्ने व्यवस्था रहेकाले त्यसको प्रभावकारी कार्यान्वयन भए–नभएको अध्ययन गर्न पनि उनले निर्देशन दिएका छन् ।

पछिल्लो समय विज्ञापन बजार अनलाइन तथा डिजिटल माध्यमतर्फ केन्द्रित हुँदै गएको भन्दै मन्त्रालयले छापा, अनलाइन र अन्य डिजिटल सञ्चारमाध्यमलाई समेट्ने एकीकृत वर्गीकरण प्रणालीको सम्भावनाबारे समेत अध्ययन गर्ने भएको छ ।

मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिलको आर्थिक तथा प्रशासनिक काम पारदर्शी बनाउन र महालेखापरीक्षकको प्रतिवेदनमा औंल्याइएका बेरुजु समयमै फर्छ्योट गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको