नेपाल-भारत सम्बन्धलाई नयाँ ढङ्गले पुनर्विचार गर्नु पर्नेमा जोड



जनकपुरधाम, भदौ ४। नेपाल-भारत सम्बन्धलाई बदलिँदो समयअनुसार नयाँ ढङ्गले पुनर्विचार गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

सोसल डेभलपमेन्ट एन्ड रिसर्च सेन्टरको आयोजनामा भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल–भारत सम्बन्धको वर्तमान अवस्था, आयाम र भविष्यबारे जनकपुरधाममा आज आयोजित गोष्ठीका वक्ताहरुले नेपाल–भारतबीचको ऐतिहासिक तथा रणनीतिक सम्बन्धलाई थप सुदृढ र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएका हुन ।

आयोजक संस्थाका अध्यक्ष राम सिंह यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथि तथा भारतीय दूतावासका कन्सुल जनरल डा. डीएस मिना विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा पूर्वमन्त्रीहरू रामचन्द्र झा, भगवती चौधरी र डा. सुरेन्द्र यादवसहित स्थानीय बुद्धिजीवी, शिक्षाविद् तथा नीति निर्माण तहका व्यक्तिहरूको सहभागिता थियो ।

गोष्ठीमा वक्ताहरूले नेपाल–भारत सम्बन्ध सरकार र कूटनीतिक तहमा मात्र सीमित नभई जनस्तरसम्मै गहिरो रहेको बताए । वरिष्ठ पत्रकार श्यामसुन्दर शशिले आधुनिक नेपाल–भारत सम्बन्धलाई विभिन्न कालखण्डमा अध्ययन गर्नुपर्ने धारणा राख्दै सन् १८१६ को सुगौली सन्धिपछिको समयलाई दुई देशबीचको आधुनिक सम्बन्धको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे ।

उनले दुवै देशका लोकतान्त्रिक आन्दोलनमा समेत एकअर्काको सहयोगी भूमिका रहेको उल्लेख गरे ।

यद्यपि, बदलिँदो विश्व परिवेश र क्षेत्रीय परिस्थितिअनुसार नेपाल–भारत सम्बन्धको पुनरावलोकन आवश्यक रहेको सहभागीहरूको निष्कर्ष थियो ।

वक्ताहरूले सदियौँदेखि सामाजिक तथा पारिवारिक सम्बन्धका रूपमा स्थापित ‘रोटी–बेटी’ सम्बन्ध कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । सीमावर्ती क्षेत्रमा सांस्कृतिक तथा सामाजिक आत्मीयताको सट्टा अवैध मदिरा कारोबार, जुवातास तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको भन्दै उनीहरूले सम्बन्धलाई पुरानै आत्मीयता र विश्वासको आधारमा पुनः मजबुत बनाउनुपर्नेमा जोड दिए ।

दुई देशबीचको सम्बन्धलाई जनस्तरबाटै बलियो बनाउन सामाजिक, सांस्कृतिक र नीतिगत पहल आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहिवार १८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको