सर्लाही, भदौ ४ । सर्लाहीमा प्रहरीले विभिन्न स्थानबाट १० क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
लालबन्दी नगरपालिका–१४, डाइनीखोलाबाट प्रहरीले ७४३ किलो ९८० ग्राम गाँजासहित स्थानीय ६७ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई पक्राउ गरेको हो ।
घरमा गाँजा लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी र लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासबाट खटिएको टोलीले उनीहरूको घरमा खानतलासी गरेको थियो । सो क्रममा ड्रम तथा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले डाइनीखोलास्थित मकैबारीमा लगाइएको गाँजाको बेर्नासमेत नष्ट गरेको छ । सडक सुविधा नपुगेको उक्त क्षेत्रमा बाढीका कारण सवारीसाधन जान नसकेपछि प्रहरी टोली दुईवटा ट्र्याक्टरमा चढेर गाँजा बरामद गर्न पुगेको थियो ।
सर्लाहीको विकट चुरे क्षेत्रमा पछिल्लो समय प्रहरीले पटक–पटक गाँजा बरामद गर्नुका साथै अवैध खेती नष्ट गर्दै आएको छ । भौगोलिक विकटता र प्रहरीको पहुँच कम भएका कारण उक्त क्षेत्रमा गाँजा खेती हुने गरेको प्रहरीको भनाइ छ ।
यसैगरी प्रहरीले सर्लाहीको दक्षिणी क्षेत्र कौडेना गाउँपालिका–१, लक्ष्मीपुरबाट ३०० किलो गाँजा बरामद गरेको छ । स्थानीय बिजन पटेलको घरमा १५ वटा बोरामा राखिएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाँजा बरामद भए पनि घरधनी पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बरामद गाँजाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।






