इकोनोमिक डी–डे’ घोषणा गर्दै ट्रम्प, इरानलाई सहयोग गर्ने देशलाई कडा चेतावनी



एजेन्सी, भदौ ४। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप कडा आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्। उनले इरानमाथि लक्षित आगामी कदमलाई ‘ इकोनोमिक डी–डे’ को संज्ञा दिँदै कुनै पनि देशमाथि गरिने अहिलेसम्मकै कठोर आर्थिक कारबाही हुन सक्ने बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई वार्ताका लागि पर्याप्त अवसर दिइएको भए पनि त्यसको सदुपयोग गर्न तेहरान असफल भएको दाबी गरेका छन्। उनले अब इरानले अभूतपूर्व स्तरको आर्थिक दबाब र अन्तर्राष्ट्रिय एक्लोपनाको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

ट्रम्पले अन्य देशलाई समेत इरानलाई कुनै किसिमको सहयोग नगर्न आग्रह गरेका छन्। इरानलाई सहयोग गर्ने मुलुकले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने उनको चेतावनी छ।

उनका अनुसार इरानसँग जोडिएका तेल तस्करी, स्वाप लाइन, नगद रकमको स्थानान्तरण, एक्सचेन्ज हाउस, पानीजहाजको दर्ता तथा विभिन्न फ्रन्ट कम्पनीमार्फत हुने कारोबार रोक्नुपर्नेछ। यस्ता गतिविधिमा संलग्न पक्षबारे आफूहरू जानकार रहेको पनि ट्रम्पले बताएका छन्।

ट्रम्पले अमेरिकी सहयोगी राष्ट्रहरूलाई इरानबाट उत्पन्न खतरा रोक्न र उसलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने अभियानमा वासिङ्टनलाई साथ दिन अपिल गरेका छन्।

इरान र अमेरिकाबीच लामो समयदेखि जारी तनावका बीच ट्रम्पको पछिल्लो चेतावनीले दुई देशबीचको आर्थिक तथा कूटनीतिक टकराव थप चर्किन सक्ने संकेत गरेको छ

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको