काठमाडौं, भदौ ५ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशन को विषयमा देखिएको विवाद थप चर्किएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको हाल अघि बढिरहेको प्रक्रिया रोक्न माग गर्दै आज शुक्रबार सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
इतर पक्षका नेता डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न अदालत जाने निर्णय गरेको हो ।
नेता एनपी साउदका अनुसार अदालतमा निवेदन दर्ताका लागि कानून व्यवसायीहरूले तयारी गरिरहेका छन् । उनले शीर्ष नेताहरूको समन्वयमा कानुनी प्रक्रिया अघि बढाइएको र शुक्रबार नै मुद्दा दर्ता हुने जानकारी दिए ।
देउवा पक्षका अनुसार पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै निवेदन सर्वोच्चमा दर्ता गरिनेछ । दुवै निवेदनको विषयवस्तु समान भए पनि कानुनी रूपमा अलग–अलग निवेदन पेस गर्ने तयारी गरिएको साउदले बताए ।
कांग्रेसभित्र महाधिवेशनको नेतृत्व र कार्यतालिकालाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । देउवा पक्षले गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै हालैको भेलाबाट देउवाकै नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
यता, संस्थापन पक्षले भने १५औँ महाधिवेशनका लागि असोज महिनालाई लक्षित गर्दै कार्यतालिका अघि बढाइसकेको छ ।
महाधिवेशन प्रक्रिया, पार्टीको वैधानिकता तथा नेतृत्वसम्बन्धी विवाद अदालतसम्म पुगेसँगै कांग्रेसको आन्तरिक राजनीतिक संघर्ष थप पेचिलो बनेको छ । अब सर्वोच्च अदालतमा दर्ता हुने निवेदन र त्यसमा आउने आदेशले महाधिवेशनको आगामी प्रक्रिया प्रभावित हुने देखिएको छ ।






