काठमाडौं, भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी टिममा ६ जनालाई मनोनीत गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा ६ जनालाई विभिन्न जिम्मेवारीमा मनोनीत गरेको हो ।
बैठकले पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । यस्तै डा. मनोहर प्रधान कोषाध्यक्षमा मनोनीत भएका छन् ।
जेनजी युवा पुरुषोत्तम यादवलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ । सुरेन्द्र चौधरी र नमिता यादवलाई सहप्रवक्तामा मनोनीत गरिएको छ भने बसुमाया तामाङलाई सहकोषाध्यक्षमा दोहोर्याइएको छ ।
मनोनीत भएका सबै पदाधिकारी संस्थापन पक्षनिकट रहेको बताइएको छ । बालेन पक्षबाट भने शुक्रबारको बैठकमा कुनै पनि नाम मनोनयन भएको छैन ।
रास्वपामा अझै एक उपसभापति र एक महामन्त्री पदमा मनोनयन हुन बाँकी छ । बालेन पक्षबाट नाम प्राप्त नभएकाले ती दुई पद तत्कालका लागि रिक्त राखिएको बताइएको छ ।
यसैबीच, रास्वपाले पार्टीको सचिवालयसमेत विस्तार गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्दै विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई समेटेको हो ।
विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झालाई समेटिएको छ ।
पार्टीको संगठन विस्तार तथा आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै रास्वपाले पदाधिकारी र सचिवालय विस्तार गरेको हो । बाँकी दुई पदमा बालेन पक्षबाट आउने नामका आधारमा निर्णय हुने देखिएको छ ।






