मिर्चैयामा फेरि चोरीको आतंक, सुन–चाँदी र नगदसहित लाखौँको धनमाल चोरी



श्याम कुमार ठाकुर
सिरहा, भदौ ५ । सिरहाको मिर्चैया नगरपालिका–७ एकटा टोलमा बिहीबार राति चोरी भएको छ । चोरीमा करिब १२ तोला सुन, ३० तोला चाँदी र १ लाख ५० हजार रुपैयाँ नगदसहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको परिवारले जनाएको छ ।

पीडित राजीव रञ्जन यादवका अनुसार रातिको समयमा घरमा प्रवेश गरेका चोरले सुन, चाँदी तथा नगद रकम लिएर फरार भएका हुन् । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्नुका साथै चोरीमा संलग्न व्यक्तिको खोजी र घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

मिर्चैया क्षेत्रमा चोरीका घटना दोहोरिन थालेको स्थानीयवासीको गुनासो छ । पछिल्लो समय नगरपालिकाका विभिन्न वडामा एक दर्जनभन्दा बढी घरमा चोरी भएको स्थानीयको दाबी छ ।

केही घटनामा संलग्न व्यक्तिहरू पक्राउ परे पनि चोरीका घटना पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको स्थानीयको भनाइ छ । लगातार चोरीका घटना भइरहँदा नागरिकमा सुरक्षाको चिन्ता बढ्दै गएको छ ।

स्थानीयवासीले रात्री गस्तीलाई प्रभावकारी बनाउन, शंकास्पद गतिविधिमाथि निगरानी बढाउन तथा श्रृंखलाबद्ध चोरी नियन्त्रणका लागि सुरक्षा निकायले थप सक्रियता देखाउन माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले पछिल्लो चोरी घटनाबारे अनुसन्धान भइरहेको र चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार १८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको