गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प



बारा , भदौ ६ । तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि स्थानीयले थालेको आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा क्षेत्र शनिबार चौथो दिन पनि ठप्प रहेको छ ।

गत बुधबार बिहान ११ बजेदेखि बन्द रहेको सडकमा स्थानीयले टेन्ट टाँगेर धर्ना तथा प्रदर्शन गरिरहेका छन् । गरिमाको हत्या प्रकरणमा दोषीलाई कडा कारबाही र परिवारलाई न्याय दिनुपर्ने माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँचबुँदे सहमति भएको थियो । तर, उक्त सहमतिप्रति मृतक बालिकाको परिवारले असहमति जनाएपछि आन्दोलनले निरन्तरता पाएको हो ।

परिवारले मध्यरातमा गरिएको सहमति आफूहरूको सहभागिता र सहमतिबिना भएको भन्दै त्यसलाई अमान्य घोषणा गरेको छ । त्यसपछि स्थानीयले सडकमा धर्ना जारी राखेका छन् ।

आन्दोलनमा मृतक बालिकाको परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडा तथा बाराका अन्य क्षेत्रबाट समेत स्थानीयहरू सिमरामा जम्मा भइरहेका छन् ।

यसअघि स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका तत्कालीन प्रहरी प्रमुखको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै उनको सरुवाको माग गरेका थिए । प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिलीप क्षेत्रीको सरुवा भएपछि बिहीबार राति प्रशासन र आन्दोलनरत पक्षबीच पाँचबुँदे सहमति भएको थियो ।

तर, परिवारले उक्त सहमति स्वीकार नगरेपछि सडक अवरोध हट्न सकेको छैन । सडक बन्द हुँदा वीरगञ्ज–पथलैया सडकखण्डमा यातायात प्रभावित भएको छ ।

गरिमाको शव अझै कलैया अस्पतालमै रहेको छ । परिवारले न्यायको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार १५:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको