काठमाडौँ, भदौ ६ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद अदालतमा नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन् ।
शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीभित्र देखिएको असमझदारी अन्त्य गर्न संवादको बाटो रोज्न संस्थापन इतर समूहका नेताहरूलाई आग्रह गरे ।
कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जाका साथ अघि बढिरहेको दाबी गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । संविधान र कानुनले मुद्दामामिलाको बाटो खुला गरे पनि अदालतबाट मात्र पार्टीको समस्या समाधान नहुने उनको भनाइ थियो ।
शर्माले भने, ‘अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लिएर जानुछ।’
उनले आगामी असोजमा कांग्रेसको महाधिवेशन हुने भएकाले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैका लागि अवसर खुला रहेको बताए । विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि कायम नरहने उनको भनाइ थियो ।
आगामी महाधिवेशनमा सभापति, उपसभापति वा महामन्त्री बन्न इच्छुक सबैलाई प्रतिस्पर्धाका लागि पार्टीभित्र अवसर रहेको शर्माले स्पष्ट पारे ।
उनले पार्टीभित्रको विवादलाई थप जटिल बनाउनुको सट्टा आगामी महाधिवेशनलाई केन्द्रमा राखेर संवाद र सहकार्यबाट कांग्रेसलाई अघि बढाउनुपर्नेमा जोड दिए ।






