राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछिकै ठूलो संकटमा :  प्रचण्ड



काठमाडौं , भदौ ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछिकै गम्भीर संकटमा परेको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित ‘कम्युनिस्ट एकता, सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले अहिले देश अभूतपूर्व संकटबाट गुज्रिरहेको बताएका हुन्।

उनले राष्ट्रिय स्वाधीनतामाथि देखिएको संकट विगतमा सुगौली सन्धिपछि नेपालले भोगेको अवस्थासँग तुलना गरेका छन्।

‘अहिले देश साँच्चै संकटमा छ। सबैभन्दा ठूलो कुरा राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो संकट देखापरेको छ, सायद सुगौली सन्धिपछि यति भयानक संकट नेपालले भोग्नुपरेको थिएन,’ प्रचण्डले भने।

उनले राष्ट्रिय स्वाधीनताको रक्षा, देशभक्तिपूर्ण तथा राष्ट्रवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताए।

प्रचण्डले कम्युनिस्ट पार्टी गठन भएदेखि नै कम्युनिस्ट आन्दोलनले देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै जनताको पक्षमा संघर्ष गर्दै आएको दाबी गरे।

उनका अनुसार अहिले पनि राष्ट्रिय स्वाधीनताको रक्षाका लागि कम्युनिस्ट शक्तिबीच एकता आवश्यक छ।

‘राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति एकताको अर्को कुनै विकल्प छैन। हामीले अहंकार गरेर या कुनै खालको मनोगतवादी भ्रममा फेरि फस्ने गल्ती गर्नु हुँदैन,’ उनले भने।

उनले वर्तमान परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको