काठमाडौं, भदौ ७ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढिरहेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै ज्ञवालीले मुलुक अहिले अत्यन्तै असामान्य परिस्थितिबाट गुज्रिरहेको बताएका हुन्।
उनले लामो राजनीतिक संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता तथा नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक खुलापन गम्भीर संकटमा परेको दाबी गरे।
ज्ञवालीका अनुसार ठूलो जनादेशसहित सरकारमा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी प्रवृत्तिका संकेत देखाएको छ। संसद्भित्रको शक्ति सन्तुलन सरकारको पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारको स्वेच्छाचारितामाथि नियन्त्रण गर्न सक्ने बलियो विकल्पको अभाव रहेको बताए।
झन्डै दुईतिहाइको जनादेशका कारण सरकारले भविष्यमा संविधानमै प्रतिगामी संशोधन गर्न सक्ने जोखिम रहेको भन्दै उनले चिन्ता व्यक्त गरे।
ज्ञवालीले राष्ट्रपति संस्था, संसद्, आफ्नै पार्टी, न्यायालय, अन्य राजनीतिक दल तथा सञ्चारमाध्यमलगायत लोकतान्त्रिक संस्थाहरूको भूमिकालाई सरकारले बेवास्ता गरिरहेको आरोप लगाए।
‘यो सरकार एउटा निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको छ। जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्व छैन, संसद् जसका निम्ति कुनै अर्थको छैन, आफ्नै पार्टीको पनि—जुन पार्टीले उहाँलाई प्रधानमन्त्री बनायो—त्यसको पनि कुनै सरोकार छैन,’ उनले भने।
न्यायालय र अन्य राजनीतिक दललाई समेत बेवास्ता गर्दै सञ्चारमाध्यमलगायत संस्थाहरूलाई किनारामा पारेर सरकार अधिनायकवादको बाटोतर्फ अघि बढिरहेको उनको दाबी छ।
ज्ञवालीले वर्तमान परिस्थितिमा लोकतान्त्रिक व्यवस्था, संविधान र नागरिक अधिकारको संरक्षणका लागि राजनीतिक शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताए।






