वीरगञ्ज चिनी मिल पुनः सञ्चालन गर्न सरकारले थाल्यो सम्भाव्यता अध्ययन



वीरगञ्ज, भदौ ९। लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी मिल पुनः सञ्चालन गर्ने सम्भावना खोज्दै सरकारले स्थलगत अध्ययन अघि बढाएको छ।

मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययनका लागि सरकारले गठन गरेको कार्यदलले वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित चिनी मिलको स्थलगत अनुगमन गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ विभागीय इन्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले मिलका भवन, भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्थाबारे अध्ययन गरेको छ।

कार्यदल संयोजक यादवका अनुसार स्थलगत अनुगमनका क्रममा मिलमा रहेका संरचना तथा उपकरणको अवस्था मूल्याङ्कन गर्नुका साथै तिनलाई पुनः प्रयोग गर्न सकिने वा नसकिने विषयमा समेत अध्ययन गरिएको छ।

सरकारले गत भदौ १ गते वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा मन्त्रालयकी शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेका छन्।

कार्यदललाई १५ दिनभित्र मिलको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि आवश्यक सम्भाव्यता, कार्ययोजना तथा सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ।

लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी मिलका भौतिक संरचना र मेसिनरीको अवस्थाको मूल्याङ्कन गरी उद्योगलाई पुनः सञ्चालन गर्न सकिने सम्भावना पहिचान गर्ने उद्देश्यले सरकारले अध्ययन अघि बढाएको हो।

सरकारले कार्यदलको प्रतिवेदनका आधारमा मिल पुनः सञ्चालनको सम्भावना, आवश्यक लगानी तथा भावी कार्ययोजनाबारे निर्णय गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको