दुई लाख विदेशीको भिसा रद्द गर्ने ट्रम्प प्रशासनको तयारी



एजेन्सी, भदौ ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा शरणका लागि आवेदन दिएका वा शरण प्रक्रियामा रहेका करिब दुई लाख विदेशी नागरिकको बिजनेस तथा टुरिस्ट भिसा रद्द गर्ने तयारी गरेको छ।

यो निर्णय कार्यान्वयन भए अमेरिकी इतिहासमै एकैपटक ठूलो संख्यामा गैरआप्रवासी भिसा रद्द गरिएको घटना बन्न सक्ने बताइएको छ। अमेरिकी विदेश मन्त्रालयले आगामी केही साताभित्र यससम्बन्धी घोषणा गर्ने तयारी गरेको जनाइएको छ।

समाचार एजेन्सी एपीले अमेरिकी विदेश मन्त्रालयका दस्तावेज तथा अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार सन् २०१६ देखि २०२६ सम्म जारी गरिएका बी–१ र बी–२ भिसा यस निर्णयको दायरामा पर्न सक्नेछन्। यी भिसा व्यवसाय तथा पर्यटन प्रयोजनका लागि अमेरिका प्रवेश गर्ने विदेशी नागरिकलाई दिइन्छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगॉटका अनुसार विदेश मन्त्रालयले होमल्यान्ड सेक्युरिटी विभागसँग सहकार्य गरी छोटो अवधिका लागि आगन्तुकका रूपमा अमेरिका प्रवेश गरेपछि स्थायी बसोबासका लागि शरण आवेदन दिएका विदेशी नागरिकको पहिचान गरिरहेको छ।

यद्यपि, पिगॉटले कति संख्यामा भिसा रद्द गरिने भन्ने निश्चित संख्या सार्वजनिक गरेका छैनन्। प्रक्रिया निरन्तर अघि बढ्ने भएकाले रद्द हुने भिसाको संख्या पनि परिवर्तन हुन सक्ने उनले बताएका छन्।

भिसा रद्द हुँदैमा तत्काल देश निकाला नहुने

अमेरिकी अधिकारीहरूका अनुसार भिसा रद्द हुनुको अर्थ सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट निकालिने भन्ने होइन। शरणसम्बन्धी मुद्दा विचाराधीन रहेका व्यक्तिले आफ्नो दाबीमाथि कानुनी प्रक्रिया अघि बढाउन पाउनेछन्। तर उनीहरूले बिजनेस वा टुरिस्ट भिजिटरका रूपमा प्राप्त गरेको गैरआप्रवासी हैसियत भने गुमाउनुपर्ने हुन सक्छ।

ट्रम्प प्रशासनले आफ्नो दोस्रो कार्यकाल सुरु भएयता अमेरिकी भिसा तथा आप्रवासनसम्बन्धी नियमलाई थप कडा बनाउने नीति अघि बढाउँदै आएको छ। पछिल्लो कदम पनि सोही व्यापक नीतिको हिस्सा भएको बताइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको