श्यामकुमार ठाकुर
सिरहा, भदौ १०। सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य तथा सत्तापक्षीय सांसद तपेश्वर यादवको संसद्मा व्यक्त मिटरब्याजसम्बन्धी अभिव्यक्तिको विरोधमा मिर्चैयामा पुत्लादहन गरिएको छ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल, सिरहाको आयोजनामा भएको प्रदर्शनमा सहभागी मिटरब्याजपीडितहरूले सांसद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूका अनुसार सांसद यादवले संसद्मा मिटरब्याजसम्बन्धी विषयमा ‘९० प्रतिशत साहु पीडित र १० प्रतिशत मात्र ऋणी पीडित’ हुने आशयको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले वास्तविक मिटरब्याजपीडितको समस्या र पीडालाई बेवास्ता गरेको भन्दै उनीहरूले विरोध जनाएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले सांसद यादवविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका थिए। उनीहरूले मिटरब्याजसम्बन्धी अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरेका छन्।
मिटरब्याजपीडितहरूले आफूहरूलाई न्याय दिन तथा मिटरब्याजको नाममा सर्वसाधारणमाथि आर्थिक शोषण गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग मागसमेत गरेका छन्।
प्रदर्शनकारीहरूले मिटरब्याजपीडितको समस्या समाधानका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने र पीडितको पक्षमा स्पष्ट नीति तथा कार्यान्वयन सुनिश्चित गर्नुपर्ने बताएका छन्।






