काठमाडौं, भदौ १० । तिब्बततर्फबाट भोटेकोशी नदीमा बाढी प्रवेश गरेपछि सरकारले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट जोगिन अपिल गरेको हो।
बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
प्राधिकरणले नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई जोखिमपूर्ण स्थानमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएको निर्देशन पालना गर्न अनुरोध गरेको छ।
यसैगरी, बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा यात्रा नगर्न आग्रह गरिएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि ती सडकखण्डमा आवतजावत रोक्न सम्बन्धित स्थानीय तह र प्रशासनलाई समेत अनुरोध गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सर्न, अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्न तथा बाढीको जोखिमबारे निरन्तर सूचना लिन आग्रह गरेको छ।






