काठमाडौं, भदौ १० । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
मंगलबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक नियमानुसार संसद्को प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्। सांसदहरूले लामो समयदेखि प्रधानमन्त्रीशाह संसद्मा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका थिए।
आजको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८१८२ को सातौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। त्यस्तै, नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि संसद्मा प्रस्तुत गरिनेछ।
यसैबीच, विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दैछ। बैठकमा सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय गरिने जनाइएको छ।






