पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै, मुस्लिम समुदायलाई सार्वजनिक बिदा



जनकपुरधाम, भदौ १०। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज जनकपुरधामसहित विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई आफ्ना प्रमुख सन्देष्टा तथा मार्गदर्शकका रूपमा श्रद्धापूर्वक स्मरण गर्दै जन्मजयन्तीका अवसरमा ¥याली, सभा, धार्मिक प्रवचन तथा विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन्।

नेपालमा पनि नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा मुस्लिम समुदायका अगुवा तथा धर्मावलम्बीहरूको सहभागिता रहने जनाइएको छ।

पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको इस्लामिक धार्मिक मान्यता छ। पछि उहाँ मदिना पुग्नुभएको थियो। इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान पैगम्बर मोहम्मदमाथि अवतरित भएको मुस्लिम समुदायको विश्वास छ।

मक्का र मदिनालाई इस्लाम धर्मावलम्बीले प्रमुख पवित्रस्थलका रूपमा मान्दै आएका छन्। मुस्लिम समुदायका लागि जीवनमा कम्तीमा एकपटक मक्कामा हज गर्नुलाई महत्वपूर्ण धार्मिक कर्तव्यका रूपमा लिइन्छ।

पैगम्बर मोहम्मदका शिक्षा, उपदेश र इस्लाम धर्ममा उहाँले पुर्‍याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायले जन्मजयन्ती मनाउने गरेका हुन्।

यस पटक मुस्लिम समुदायलाई मात्र सार्वजनिक बिदा

सरकारले पैगम्बर मोहम्मदको जन्मजयन्ती (मोहम्मद जयन्ती) को अवसरमा यस वर्ष मुस्लिम समुदायका लागि मात्र सार्वजनिक बिदा दिएको छ।

मधेश प्रदेशका गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ। यस अघिका मधेश सरकारले सार्वजनिक विदा दिदै आएको थियो ।

बिदाका अवसरमा देशभरका विभिन्न मस्जिद तथा धार्मिक स्थलमा विशेष प्रार्थना, ¥याली, सभा र धार्मिक कार्यक्रम आयोजना भइरहेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार ०७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको