असोजमा एमाले प्रतिनिधि परिषद्को बैठक बोलाउन सुझाव



काठमाडौं, भदौ १० । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आगामी असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएर त्यसलगत्तै विधान महाधिवेशन गर्न सुझाव दिएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदनको अन्तिम निष्कर्षमा पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्न प्रतिनिधि परिषद्को बैठकलाई महत्वपूर्ण थलोका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार पार्टी र सरकारको कामको गम्भीर समीक्षा गर्दै पुनर्गठनको कार्ययोजना कार्यान्वयन गर्न असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नुपर्ने सुझाव दिइएको छ। बैठक सम्पन्न भएपछि त्यसैलाई विधान महाधिवेशनमा रूपान्तरण गरी आवश्यक विधान संशोधन गर्न पनि कार्यदलले प्रस्ताव गरेको छ।

निर्वाचनमा पार्टीले बेहोरेको पराजयले एमालेको पार्टी जीवनमा गम्भीर धक्का पुगेको निष्कर्ष निकाल्दै कार्यदलले यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने जनाएको छ। पार्टी पुनर्गठनको कार्ययोजना पारित गरेर नयाँ योजना र संकल्पका साथ अघि बढ्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।

पार्टीभित्र देखिएको गुटबन्दी, अनुशासनहीनता र स्वेच्छाचारी कार्यशैली अन्त्य गर्न विधानमै आवश्यक परिवर्तन गर्नुपर्ने कार्यदलको निष्कर्ष छ। त्यसका लागि विधान महाधिवेशनमार्फत पार्टीको सांगठनिक संरचना र नेतृत्वसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्न सुझाव दिइएको हो।

कार्यदलले उमेर हद र कार्यकालसम्बन्धी व्यवस्था पुनःस्थापित गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ। यसअघि हटाइएका यस्ता प्रावधानलाई विधान महाधिवेशनमार्फत पुनः लागू गर्दा नयाँ पुस्तालाई नेतृत्वमा आउने अवसर सिर्जना हुने कार्यदलको धारणा छ।

निर्वाचनमा पराजय बेहोरे पनि एमालेले प्राप्त गरेको करिब १४ लाख मतलाई पार्टी पुनर्जागरणको महत्वपूर्ण आधारका रूपमा कार्यदलले व्याख्या गरेको छ। उक्त जनमतलाई जोगाउँदै थप विस्तार गर्न पार्टीको वैचारिक, राजनीतिक तथा सांगठनिक पुनर्संरचना आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले मुलुकमा बढ्दै गएको लोकप्रियतावाद, अराजकता र वैदेशिक शक्तिको चलखेललाई रोक्न एमाले बलियो हुनुपर्ने निष्कर्षसमेत निकालेको छ। पुनर्गठित एमालेको नेतृत्वमा मुलुकलाई सही दिशामा अघि बढाउँदै जनताको बहुदलीय जनवाद ९जबज० को मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्न सकिने कार्यदलको दाबी छ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार ०७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको