चितवन, भदौ ११ । तिब्बतबाट आएको बाढीले बगाएर ल्याएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा फेला परेको छ।
चितवनका विभिन्न क्षेत्रमा नदीमा बगेर आएका शव तथा मानव शरीरका अंगसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। फेला परेका शवमध्ये केही सग्लो अवस्थामा छन् भने केही शरीरका अंग मात्र रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। तर शवगृहमा ठाउँ अभाव भएपछि थप शव व्यवस्थापनका लागि वैकल्पिक स्थानको तयारी भइरहेको उनले बताए।
उनका अनुसार तनहुँमा फेला परेका नौवटा शवसमेत चितवन पठाइएको थियो। तर भरतपुर अस्पतालको शवगृहमा पर्याप्त ठाउँ नभएपछि ती शवलाई पुनः तनहुँ नै पठाइएको छ।
बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी तथा शवको पहिचानका लागि चितवनमा रहेका तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्। सुरक्षा टोलीले त्रिशूली र नारायणी नदी किनारका विभिन्न क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।
भरतपुर अस्पतालको शवगृहमा थप शव राख्न नसक्ने अवस्था भएपछि आगामी दिनमा फेला पर्ने शवलाई औद्योगिक प्रतिष्ठानका कार्यालयमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।
बाढीका कारण नदीमा बगेर आएका शवको संख्या बढ्दै गएपछि चितवनमा शव व्यवस्थापन तथा पहिचानको चुनौती थपिएको सुरक्षा निकायले जनाएको छ।






