काठमाडौँ, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक रहेका छन्। ४७ जनाको भने अझै पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार विभिन्न जिल्लामा शव फेला परेका छन्। रसुवामा तीन पुरुषको शव फेला परेको छ।
नुवाकोटमा ६ महिला र ७ पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा पहिचान नखुलेका ६ जनाको शव फेला परेको छ।
गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ।
चितवनमा सबैभन्दा धेरै शव फेला परेका छन्। प्रहरीका अनुसार त्यहाँ १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ।
त्यसैगरी तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव फेला परेको छ।
नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक तथा पहिचान नखुलेका चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढीपछि विभिन्न जिल्लामा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य जारी रहेको छ। पहिचान नखुलेका शवको विवरण संकलन गरी आफन्तसँग समन्वय गरेर पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।






