काठमाडौं, भदौ ११ । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग आज दिउँसोसम्म सञ्चालनमा ल्याउने गरी सडक विभागले काम तीव्र बनाएको छ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार मुग्लिनदेखि गलौंदी र काठमाडौंँदेखि बैरेनीसम्मको सडक सञ्चालनमा रहे पनि बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर क्षेत्रमा बाढीले थुपारेको लेदोका कारण सडक अवरुद्ध भएको हो।
उनका अनुसार उक्त क्षेत्रमा विभिन्न स्थानमा ठूलो मात्रामा लेदो थुप्रिएको छ। लेदो हटाएपछि मात्रै सडकको वास्तविक अवस्था यकिन हुने भएकाले काम चुनौतीपूर्ण रहेको उनले बताए।
“विशेष अवस्था बाहेक आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,” न्यौपानेले बताए।
सडकमा थुप्रिएको लेदो हटाउन गएरातिदेखि नै १५ वटा उपकरण परिचालन गरिएको विभागले जनाएको छ। गएराति १० बजेपछि वर्षा भएपछि केही समय काम प्रभावित भए पनि आज बिहानैदेखि उपकरण प्रयोग गरी लेदो पन्छाउने कामलाई निरन्तरता दिइएको छ।
बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएपछि काठमाडौं–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो।
सडक विभागले सडक खुलाउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी काम गरिरहेको जनाएको छ।






