काठमाडौँ, भदौ १४ । लामो समयदेखि आन्तरिक विवादमा फसेको नेपाली काँग्रेस औपचारिक विभाजनको दिशातर्फ अघि बढेको देखिएको छ। गगन थापा सभापति बनेपछि संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीचको विवाद थप चर्किएको हो।
संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा नियमित १५औँ महाधिवेशन गर्ने निर्णय गर्दै वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ।
तर, देउवा पक्षले उक्त महाधिवेशन रोक्न अदालतमा रिट दायर गरेको थियो। अदालतले महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि देउवा समूहले छुट्टै महाधिवेशनको तयारी थालेको हो।
यसै क्रममा देउवा पक्षले १५औँ महाधिवेशनको छुट्टै कार्यतालिका तय गर्न बैठक बोलाएको छ। बैठक बुधबार देउवा समूहको सम्पर्क कार्यालय चुनादेवीमा बस्नेछ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ।
बैठकमा १४औँ महाधिवेशनबाट देउवा पक्षबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ।
बैठकका लागि महाधिवेशनको तयारी, समसामयिक विषय र विविध गरी तीनवटा एजेन्डा तय गरिएको छ।
यता महाधिवेशन आयोजक समितिका संयोजक डा। शशाङ्क कोइरालाले पनि सोमबार विज्ञप्ति जारी गर्दै चाँडै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिने जानकारी दिएका छन्।
काँग्रेसभित्रको विवाद समाधान नभए दुवै समूहले छुट्टाछुट्टै महाधिवेशन गर्ने सम्भावना बढेको छ। यस्तो अवस्था आए नेपाली काँग्रेस औपचारिक रूपमा पुनः विभाजित हुने देखिन्छ।






