काठमाडौँ, भदौ १४ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ।
बाढीले बगाएर नदी किनार, खोल्सा तथा विभिन्न स्थानमा पुर्याएका शव र शरीरका अङ्ग सङ्कलन गरी कानुनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने तथा स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राख्दै अन्तिम व्यवस्थापन गर्ने काम एकीकृत रूपमा भइरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार हालसम्म रसुवाबाट १३, नुवाकोटबाट ४१, धादिङबाट ४९, चितवनबाट २४८, गोरखाबाट ५४, तनहुँबाट ३१, पूर्वी नवलपरासीबाट १५८ र पश्चिम नवलपरासीबाट ७५ गरी ६६९ शव फेला परेका छन्।
लामो समयसम्म पहिचान खुल्न नसकेका शवको हकमा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन ९पहिलो संशोधन० निर्देशिका, २०८३’ अनुसार जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम जमिनमुनि व्यवस्थापन गर्ने प्रक्रिया अपनाइएको काफ्लेले जानकारी दिनुभयो।
प्रहरीका अनुसार शव व्यवस्थापन गर्दा तत्काल अन्तिम संस्कार गरेर प्रमाण नष्ट हुने अवस्था आउन नदिन प्रत्येक शवको पहिचान नम्बर, डीएनए लगायतका फरेन्सिक प्रमाण सुरक्षित राखिनेछ।
उद्धारका क्रममा शव वा शरीरका अङ्ग फेला परेपछि घटनास्थलमै आवश्यक लासजाँच मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरिनेछ। त्यसपछि फरेन्सिक चिकित्सकबाट परीक्षण गरी शव सफा गर्ने र अनुहार तथा शरीरको अगाडि, पछाडि, दायाँ र बायाँलगायत विभिन्न कोणबाट तस्बिर खिचेर अभिलेख राखिने प्रहरीले जनाएको छ।
शरीरमा रहेका पहिचानजन्य चिह्न, विशेष अङ्ग तथा अन्य विशेषतासमेत स्पष्ट रूपमा अभिलेख गरिनेछ। पहिचान नखुलेका प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत वा कोड नम्बर प्रदान गरी क्रमबद्ध रूपमा सुरक्षित राखिने व्यवस्था गरिएको छ।
भविष्यमा आफन्तले शव दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत पहिचान गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई बुझाउन सकिने गरी शव तथा त्यससँग सम्बन्धित प्रमाण सुरक्षित राखिने प्रहरीको भनाइ छ।
यसैबीच, पहिचान नखुलेका शवको विवरण सर्वसाधारणको पहुँचमा पुर्याउन नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमा ‘पहिचान नखुलेको शवहरूको विवरण’ शीर्षकमा छुट्टै व्यवस्था गरेको जनाएको छ।
वेबसाइटमा राखिएका तस्बिर, हुलिया तथा अन्य विवरण हेरेर आफन्तले सम्भावित रूपमा आफ्ना परिवारका सदस्यको पहिचान गर्न सक्नेछन्। शव पहिचान भएको जानकारी प्राप्त भएमा प्रहरीको हेल्प डेस्कमार्फत थप कानुनी प्रक्रिया अघि बढाई परिवारको जिम्मा लगाइने जनाइएको छ।






