त्रिशूली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ पठाउने तयारी



काठमाडौँ, भदौ १४ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले सुरुङसम्म पुग्ने बाटो फेला पारेको छ।

तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा सुरुङ विज्ञ सम्मिलित टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्न प्रयोग हुने सुरुङ फेला पारेको हो। अब उक्त सुरुङमार्फत उद्धार विज्ञलाई भित्र पठाएर सुरुङभित्रको वास्तविक अवस्था बुझ्ने तयारी गरिएको छ।

श्रेष्ठका अनुसार उक्त सुरुङबाट मानिस प्रवेश गर्न सक्ने भएकाले उद्धारका लागि महत्वपूर्ण सफलता हासिल भएको छ। सुरुङभित्र हावा पठाउन अक्सिजनका लागि प्वालसमेत बनाइसकिएकाले भित्र फसेका कर्मचारी सकुशल रहेको आशा गरिएको उहाँले बताउनुभयो।

उद्धार टोलीले यसअघि सुरुङभित्र हावा पठाउन तथा अवस्थाबारे जानकारी लिन पाँचवटा ड्रिल गरी प्वाल बनाएको थियो।

उद्धार क्षेत्रमै रहेर प्रक्रियाको नेतृत्व गरिरहेका सांसद तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले पनि ‘केबल एक्सेस टनेल’ भेटिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार टोलीले सुरुङभित्रको अवस्थाबारे थप जानकारी लिने काम गरिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढी आएको दुई दिनपछि शुक्रबारदेखि सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य सुरु गरिएको थियो। उद्धार प्रयास जारी रहे पनि लामो समयसम्म सुरुङसम्म पुग्न नसकिएपछि भित्र फसेका कर्मचारीको अवस्थाबारे चिन्ता बढेको थियो।

आयोजनाको जमिनमुनि रहेको विद्युत् गृहमा ओभरहलिङको काम भइरहेको थियो। त्यहाँ करिब ४० देखि ४२ जना उच्च तहका विज्ञसहित प्राविधिक जनशक्ति कार्यरत रहेको र उनीहरू सुरुङभित्र फसेको हुन सक्ने प्राधिकरणको अनुमान छ।

सुरुङसम्म पुग्ने बाटो फेला परेसँगै अब उद्धार विज्ञलाई भित्र पठाएर फसेका कर्मचारीको अवस्था पत्ता लगाउने र सक्दो छिटो उद्धार गर्ने प्रयास अघि बढाइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको