काठमाडौँ, भदौ १४ । रसुवाको भोटेकोशी नदीमा राति एक्कासि बढेको बाढीको बहाव अहिले क्रमशः घट्दै गएको छ। राति करिब ३ बजेदेखि नदीको बहाव अस्वाभाविक रूपमा बढेको स्थानीय प्रशासनले जनाएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार राति करिब ३ बजेतिर ठूलो आवाज सुनिएपछि भोटेकोशी नदीमा बाढीको बहाव बढेको जानकारी भएको थियो। पछिल्लो समय भने नदीको बहाव घट्दै गएको उनले बताएका छन्।
उनका अनुसार नदीको अवस्था निरन्तर निगरानीमा राखिएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोशी नदीमा पानीको बहाव बढेको जनाएको छ।
महाशाखाले आइतबार बिहान पौने ६ बजे सूचना अद्यावधिक गर्दै रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाएको छ।
यद्यपि वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव जुनसुकै बेला बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।






