सप्तरी, भदौ १५ । रसुवामा आएको विनाशकारी बाढीमा सप्तरीका ४९ जना र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कविहीन भएका छन्। बाढीमा सप्तरीका एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार खडक नगरपालिका–५ रञ्जितपुरका सन्तोष चौधरीको बाढीमा परी मृत्यु भएको हो। चौधरी रसुवास्थित नुवाकोट जलविद्युत आयोजनामा कामदारका रूपमा कार्यरत थिए।
सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवका अनुसार रसुवामा रहेका सप्तरीका १८ जनाको उद्धार गरिएको छ भने नौ जना सम्पर्कमा आएका छन्। तर विभिन्न जलविद्युत आयोजना तथा निर्माणस्थलमा कार्यरत ४९ जना सप्तरीवासी र दुई भारतीय नागरिक अझै सम्पर्कमा आउन सकेका छैनन्।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार भारतको मधुवनी जिल्ला, लौकहा बलुवा निवासी सरोजकुमार गुप्ता र मधुवनीकै रञ्जितकुमार गुप्ता पनि सम्पर्कविहीन छन्। उनीहरू रसुवास्थित जलविद्युत आयोजनामा कार्यरत थिए।
सम्पर्कविहीन हुनेमा महादेवा गाउँपालिका–२ का इन्जिनियर देवकुमार इसर, खडक नगरपालिका–७ का कामदार सुनिता राम र उनका छोरा दिवान्स राम तथा विष्णुपुर गाउँपालिका–१ का प्राविधिक शिक्षक अजयकुमार यादव रहेका छन्।
त्यस्तै तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्जय साह, तिरहुत गाउँपालिका–४ डिमनका इन्जिनियर रविन्द्रकुमार यादव, महादेवा–२ का इन्द्रनारायण इसर, राजगढ गाउँपालिका–२ का इन्जिनियर राजीवकुमार सिंह पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार सुरुङ्गा नगरपालिका–२ का सरोज चौधरी, कञ्चनरुप नगरपालिका–६ सितापुरका अनिल विश्वकर्मा, महादेवा–२ का सन्तोष यादव, शम्भुनाथ नगरपालिकाका मेकानिकल इन्जिनियर पिताम्बरप्रसाद दास र तिलाठी कोइलाडीका सर्वे इन्जिनियर दिलिपकुमार मण्डल पनि सम्पर्कविहीन छन्।
यस्तै शम्भुनाथ नगरपालिका–३ का रमेश चौधरी, हृदय नारायण चौधरी, सुरेन्द्रदेव चौधरी र दिपेन्द्र चौधरी, वडा नं। ४ का प्रेमसागर चौधरी, वडा नं। ६ कठौनाका साजन चौधरी र ओमप्रकाश चौधरी तथा वडा नं। ३ का सुपरभाइजर त्रिभुवनकुमार मण्डल पनि सम्पर्कमा नआएको प्रशासनले जनाएको छ।
रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा निर्माणस्थलमा कार्यरत सप्तरीका कामदार, प्राविधिक र कर्मचारी प्रभावित भएका हुन्। सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।






