काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुटेका सदस्यलाई थप पाँच दिनको समय दिएको छ।
कांग्रेसले भदौ १५ देखि १९ गतेसम्म छुटेका क्रियाशील सदस्यले आफ्नो सदस्यता नवीकरण तथा विवरण अद्यावधिक गर्न सक्ने जनाएको छ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले थप समय दिने निर्णय गरेको हो।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको वृहत्तर हित, संगठनात्मक एकता तथा क्रियाशील सदस्यहरूको अनुरोधलाई ध्यानमा राख्दै नवीकरण र अद्यावधिकका लागि अतिरिक्त समय उपलब्ध गराइएको हो।
यसअघि तोकिएको समयभित्र सदस्यता नवीकरण वा विवरण अद्यावधिक गर्न नसकेका सदस्यले अब थपिएको अवधिमा प्रक्रिया पूरा गर्न सक्नेछन्।
कांग्रेसले क्रियाशीलसदस्यता पार्टीको संगठन विस्तार तथा आन्तरिक संरचनाका लागि महत्वपूर्ण भएकाले सम्बन्धित सदस्यलाई तोकिएको समयभित्रै नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरेको छ।






