अमेरिकामाथि इरानको जवाफी हमला, जोर्डनका दुई अमेरिकी सैन्य आधारमा मिसाइल र ड्रोन प्रहार



एजेन्सी, भदौ १५ । इरान र अमेरिकाबीचको तनाव थप चर्किएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य हवाई आधारलाई लक्षित गरी मिसाइल र ड्रोनमार्फत हमला गरेको दाबी गरेको छ।

आईआरजीसीका अनुसार होर्मुज जलडमरूमध्यस्थित लाराक द्वीपमा अमेरिकाले गरेको सैन्य कारबाहीको जवाफस्वरूप जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनामाथि संयुक्त रूपमा ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरिएको हो।

इरानी समाचार संस्था तस्निम न्यूजमा प्रकाशित आईआरजीसीको भनाइअनुसार अजराकस्थित मुवाफ्फक साल्टी एयर बेस र किङ हुसेन एयर बेसमा रहेका प्राविधिक तथा मर्मतसम्बन्धी संरचना र लडाकु विमान तैनाथ गरिएका क्षेत्रलाई निशाना बनाइएको थियो।

आईआरजीसीले आक्रमणबाट अमेरिकी सैन्य संरचनामा ठूलो क्षति पुगेको दाबी गरेको छ। यद्यपि उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

इरानी गार्ड्सले होर्मुज जलडमरूमध्यमा आफ्नो प्रभाव कमजोर नहुने दाबी गर्दै आगामी दिनमा पनि कुनै आक्रमण भए त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ।

यसअघि अमेरिकाले होर्मुज जलडमरूमध्यस्थित लाराक द्वीपमा इरानका दुई प्रक्षेपण प्रणालीलाई लक्षित गरी हमला गरेको अमेरिकी अधिकारीहरूले बताएका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक अमेरिकी अधिकारीले अमेरिकी सेनाले लाराक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा हमला गरेको पुष्टि गरेका थिए। उनका अनुसार इरानी रिभोलुसनरी गार्ड्सका सैन्य इकाइले होर्मुज जलडमरूमध्यमा समुद्री बारुद राख्न प्रयोग हुने रकेट प्रक्षेपणको तयारी गरिरहेको अवस्थामा अमेरिकी सेनाले कारबाही गरेको थियो।

लाराक द्वीप होर्मुज द्वीपको दक्षिण र केशम द्वीपको पूर्वमा अवस्थित छ। यो इरानको राजधानी तेहरानबाट करिब १ हजार १०० किलोमिटर दक्षिणपूर्वमा पर्छ।

अमेरिकी कारबाहीपछि इरानले जवाफी हमला गरेको दाबी गरेसँगै दुई देशबीचको सैन्य तनाव थप बढेको छ। पछिल्लो घटनाक्रमले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमरूमध्य आसपासको सुरक्षा अवस्थालाई समेत थप संवेदनशील बनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार ०७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको