काठमाडौं , भदौ १५। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा नेपालको यो पहिलो खेल हो।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। नेपाल पहिलो खेलमै बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। त्यसैले दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण मानिएको छ।
एसिसी प्रिमियर कपमा प्रत्येक समूहबाट शीर्ष दुई टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउनेछन्। यसका कारण समूह चरणका चारवटै खेल नेपालका लागि महत्वपूर्ण हुनेछन्।
नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकरले प्रतियोगितामा सहभागी कुनै पनि टोलीलाई कमजोर आँक्न नहुने बताएका छन्। उनका अनुसार एसिसी प्रिमियर कपमा सहभागी सबै टोली प्रतिस्पर्धात्मक रहेकाले नेपालले हरेक खेलमा उच्च स्तरको प्रदर्शन गर्न आवश्यक छ।
नेपालले प्रतियोगिताअघि आयोजक मलेसियासँग दुईवटा अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो। पहिलो अभ्यास खेलमा नेपाली ब्याटिङ प्रभावकारी देखिएको थियो भने दोस्रो खेलमा ब्याटिङ केही कमजोर भए पनि बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपालले मलेसियालाई २७ रनले पराजित गरेको थियो।
अभ्यास खेलबाट प्राप्त आत्मविश्वासलाई प्रतियोगितामा पनि कायम राख्दै नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ।
एसिसी प्रिमियर कपका लागि नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने ९कप्तान०, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन्।






