मैथिली विकास कोषको आयोजनमा १९औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइयो



जनकपुरधाम , भदौ १५ । मैथिली विकास कोषको आयोजनामा सोमवार जनकपुरधाममा १९ औँं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।
‘वाल, युवा र वृद्ध, पुस्तकालय सबैको गन्तव्य’ भन्ने नाराका साथ आयोजित १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा ‘पठन संस्कृतिको विकास’ विषयक वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका प्रतिनिधि, साहित्यकार, लेखक तथा जनकपुरधामका विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले समाजमा पठन संस्कृतिको विकास गर्न पुस्तकालयको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तक पढ्ने बानीमा कमी आउँदै गएको उल्लेख गर्दै उनीहरूले बालबालिका र युवामा नियमित अध्ययन तथा पठन संस्कृतिको विकास गर्न पुस्तकालयलाई समयअनुकूल बनाउनुपर्नेमा जोड दिए।

वक्ताहरूले पुस्तकालयलाई केवल पुस्तक राख्ने ठाउँका रूपमा सीमित नगरी ज्ञान, अनुसन्धान, साहित्य र बौद्धिक गतिविधिको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

अन्तरक्रियाका क्रममा पुस्तकालयको पहुँच विस्तार, नियमित पठन संस्कृतिको प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुस्तकालयतर्फ आकर्षित गर्ने उपायबारे समेत छलफल गरिएको थियो।

सहभागीहरूले स्थानीय तह, शैक्षिक संस्था, साहित्यिक संघसंस्था र सम्बन्धित निकायबीच सहकार्य बढाएर पुस्तकालयको भौतिक तथा शैक्षिक विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

पठन संस्कृतिको विकाससँगै पुस्तकालयलाई प्रविधिमैत्री र पाठकमैत्री बनाउँदै नयाँ पुस्ताको रुचिअनुसार सेवा विस्तार गर्नुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार १८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको