उदयपुर, भदौ १५ । प्रहरीले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्लाको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन क्षेत्रमा प्रहरीले ११ क्विन्टल २२ किलो गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार उक्त क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा नजिकैको जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई पक्राउ गरेको छ।
प्रहरीले बरामद गाँजा, बोलेरो गाडी र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।






