७ मंसिर, नयाँदिल्ली । नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनमा आएको छ ।
नेपालका प्रधानमन्त्री वालेन्द्र बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनपछि अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्ने कार्यक्रम रहेको छ । अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेलवेका उच्च अधिकारीहरूले रेललाई बिदाइ गर्नेछन् । नयाँ रेल सेवा सञ्चालनमा आएसँगै नेपाल र भारतका दुई प्रमुख धार्मिक तथा सांस्कृतिक नगरी प्रत्यक्ष रेलमार्गबाट जोडिएका छन् । यसले दुवै देशबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
भारतीय रेलवे बोर्डले यसअघि नै नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच साप्ताहिक रेल सेवा सञ्चालनका लागि स्वीकृति दिएको थियो । करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
रेलवे बोर्डको निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी, प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट रेल नम्बर १५५९६ छुटेर जनकपुरधाम आउनेछ ।
यस रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ ।
धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्ने यो पहललाई रामायण सर्किट पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधाम माता सीताको जन्मभूमि हो भने अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो । त्रेतायुगमा जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई नगरीलाई साझा धार्मिक तथा सांस्कृतिक परम्परामा जोडेको विश्वास गरिन्छ । जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर र विवाहमण्डप तथा अयोध्यास्थित राम मन्दिरलगायत धार्मिक स्थलले नेपाल र भारतबीचको साझा धार्मिक आस्थालाई प्रतिबिम्बित गर्दै आएका छन् ।
विशेषगरी प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आउने साधु, सन्त तथा श्रद्धालुहरूको सहभागिताले दुई धार्मिक नगरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आएको छ । विवाहपञ्चमीका अवसरमा अयोध्याबाट जन्ती आउने र जनकपुरधामबाट भारसहितको टोली जाने परम्परासमेत रहिआएको छ ।
जनकपुरबाट अन्य सहरमा हवाई सेवा विस्तार गर्ने योजना
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनसँगै धार्मिक पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ । जनकपुरधाम आएका पर्यटकलाई नेपालको अन्य पर्यटकीय गन्तव्यसम्म पुर्याउन जनकपुरबाट पोखरालगायतका सहरमा हवाई सेवा विस्तार गर्ने योजना पनि अघि सारिएको छ ।
यसअघि भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । नयाँ रेल सेवाले नेपाल–भारतबीचको यातायात सम्पर्क विस्तार गर्नुका साथै दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।



