यूएईविरुद्ध नेपालको शानदार जित, २२ ओभरमै लक्ष्य पूरा



जनकपुरधाम, मंसिर ६। नेपालले यूएईविरुद्धको एकदिवसीय क्रिकेट खेलमा ६ विकेटको शानदार जित निकालेको छ । यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ५७ रन बनाए । उनले ५६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । त्यस्तै मयन यादवले २८ बलमा २७ रन जोडे ।

बसिर अहमद १८ रनमा अविजित रहे भने पवन सर्राफले ८ बलमा ९ रन बनाएर नटआउट रहे । अर्जुन कुमाल ५ र देव खनाल शून्य रनमा आउट भए ।

यसअघि टसपछि पहिले ब्याटिङ गरेको यूएईले ३९।५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो ।

यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए । हरप्रीत सिंहले ३२, नुरुल्लाह अयोबीले १२ र उदिश सुरीले ८ रन जोडे ।

नेपालका बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले १० ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कुशलले ५ ओभरमा १५ रन दिँदै ३ विकेट हात पारे ।

त्यस्तै ललित राजवंशी, नन्दन यादव र राशिद खानले समान एक–एक विकेट लिए ।

बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले यूएईलाई सस्तैमा समेट्दै सहज जित दर्ता गरेको हो ।

प्रकाशित मिति: २०८३ मंसिर ६, आइतवार १६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको