काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारतको राजकीय भ्रमणमा प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको विमानबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी विमान चढ्नुअघि औपचारिक बिदाइ कार्यक्रम आयोजना गरिएको थियो ।
प्रधानमन्त्री शाहलाई ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका छन् ।
अमेरिका भ्रमणका क्रममा अपनाएको शैलीमा यसपटक पनि प्रधानमन्त्री शाह विमानस्थल प्रवेश गरेपछि सीधै विमान चढेका थिए ।
प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी दुईदिने राजकीय भ्रमणका लागि भारत गएका हुन् ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहसहितको प्रतिनिधिमण्डललाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गर्ने कार्यसूची छ ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, ऊर्जा, पूर्वाधार, विकास साझेदारी तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।



