काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह आजदेखि भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
मंसिर ६ र ७ गते हुने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् । सोमबार दुवै प्रधानमन्त्रीबीच एकल तथा प्रतिनिधिमण्डलस्तरीय छुट्टाछुट्टै बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् । निजी क्षेत्रका व्यवसायी तथा पत्रकारको टोलीसमेत दिल्ली पुग्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, सम्पर्क सञ्जाल र विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । विशेषगरी भोटेकोशी विपत्तिपछिको पुनर्निर्माण, विगतमा रोकिएका आयोजना कार्यान्वयन तथा आगामी सहकार्यका विषयलाई प्राथमिकता दिइनेछ ।
यस भ्रमणको मधेशका लागि विशेष महत्व रहने देखिएको छ । जनकपुरदेखि भारतको अयोध्यासम्मको रेल सेवा उद्घाटन गर्ने कार्यक्रमसमेत भ्रमणको कार्यसूचीमा राखिएको छ । यसले नेपाल र भारतबीच धार्मिक पर्यटन तथा दुई क्षेत्रबीचको आवागमन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी मानव संसाधन विकास, स्वास्थ्य, कृषि, खेलकुद, विपत् व्यवस्थापन र स्टार्टअपलगायतका क्षेत्रमा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना छ ।
प्रधानमन्त्री शाहले सोमबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । भारतीय विदेशमन्त्री एस। जयशंकरसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।



