काठमाडौँ मंसरि ५ । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ। नदीको धार नियन्त्रण गरी पानीको बहाव पुलमुनिबाट सञ्चालन गर्न सफल भएपछि पुललाई प्रयोगमा ल्याउने तयारी तीव्र पारिएको हो।
हुलाकी राजमार्ग आयोजना निर्देशनालय, जनकपुरधामका अनुसार सिरहातर्फ तटबन्ध निर्माण गरी नदीको बहाव पुलमुनिबाट गराइएको छ। अहिले पुलको दुवैतर्फ सडकसँग जोड्ने, माटो भर्ने तथा रेलिङ जडान गर्ने काम भइरहेको छ।
आयोजनाका प्रमुख कृष्णकुमार महतोका अनुसार बाँकी निर्माण कार्य सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइनेछ। पुल सञ्चालनमा आएपछि सिरहा र धनुषाका स्थानीयवासीलाई वर्षौंदेखिको आवागमन समस्याबाट राहत मिल्ने अपेक्षा गरिएको छ। यसअघि पुल नहुँदा विशेषगरी वर्षायाममा स्थानीयले डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो।
पुल सञ्चालनपछि दुई जिल्लाबीचको आवागमन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयको विश्वास छ। धनुषाको कमला नगरपालिकाका स्थानीय सुरेश यादवले पुल बनेपछि दैनिक कामकाजदेखि व्यापारिक गतिविधिसम्म सहज हुने बताएका छन्।



