डीएनए विज्ञसहित थप विदेशी प्राविधिक टोली नेपाल आउँदै



काठमाडौं, भदौ १६ । विपद् व्यवस्थापन, खोज तथा उद्धार र शव पहिचानका लागि नेपालले विभिन्न मित्रराष्ट्रबाट डीएनए विज्ञसहित थप प्राविधिक सहयोग प्राप्त गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले डीएनए पहिचानसहित टनेल उद्धार र खोजी कार्यमा अन्तर्राष्ट्रिय प्राविधिक टोली परिचालन भइरहेको जनाएको छ।

मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले विपद् व्यवस्थापनका विभिन्न क्षेत्रमा विदेशी प्राविधिक सहयोग निरन्तर प्राप्त भइरहेको जानकारी दिए।

उनका अनुसार भारतबाट आएको २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा परिचालन गरिएको छ। त्यस्तै चीनबाट आएको ९ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँगको समन्वयमा माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना क्षेत्रमा खटिएको छ।

कोरियाबाट पनि उद्धार टोली नेपाल आइपुगेको प्रवक्ता पौडेलले जानकारी दिए।

शव पहिचानका लागि भारतबाट १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली अगस्ट २९ देखि कार्यक्षेत्रमा रहेको छ। चीनबाट चार सदस्यीय फोरेन्सिक टोली ल्याउने तयारी भइरहेको छ भने सिंगापुरबाट समेत विपद् पीडित पहिचानसम्बन्धी टोली ल्याउन समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

तत्काल पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखिएको मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक प्रक्रिया पूरा गरी त्यस्ता शवलाई अस्थायी रूपमा जमिनमा व्यवस्थापन गरिएको प्रवक्ता पौडेलले बताए।

उनका अनुसार शव पहिचानको प्रक्रिया पूरा भएपछि आवश्यकताअनुसार सम्बन्धित परिवारसम्म पुर्‍याउने तथा अन्य कानुनी प्रक्रिया अघि बढाइनेछ।

मन्त्रालयले विपद्बाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गरी ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ ९पीडीएनए० तयार गर्ने तयारीसमेत गरेको छ। सोही मूल्याङ्कनका आधारमा दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिने प्रवक्ता पौडेलले जानकारी दिए।

विपद् प्रभावित क्षेत्रमा उद्धार, शव पहिचान तथा व्यवस्थापनका लागि नेपालले आन्तरिक स्रोतसँगै मित्रराष्ट्रबाट प्राप्त प्राविधिक सहयोगलाई समन्वयात्मक रूपमा परिचालन गरिरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको