काठमाडौं, भदौ १६ । नेपालमा आएको बाढीका कारण भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको भारतीय प्रशासनले जनाएको छ।
कुशीनगर प्रशासनका अनुसार फेला परेका १३ शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्। तीमध्ये ६ शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने ठाउँ अभाव भएपछि थप ७ शवलाई गोरखपुरस्थित एम्स अस्पतालमा पठाइएको छ।
नेपालमा आएको बाढीपछि नारायणी नदीमा बगेर भारत पुगेका हुन सक्ने आशंका गरिएका यी शवको पहिचानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
नदीमा थप शव भेटिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।
कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी ९सीडीओ० वन्दिता श्रीवास्तवका अनुसार शवसँग सम्बन्धित निर्धारित कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।
कुशीनगर जिल्ला प्रशासनले शवको विषयमा नेपालका सम्बन्धित अधिकारीसँग समेत सम्पर्क गरिरहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयमार्फत पनि फेला परेका शवबारे नेपाल सरकारलाई जानकारी गराउने प्रक्रिया अघि बढाइएको छ।
प्रशासनका अनुसार पोस्टमार्टमलगायत आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गरिनेछ। त्यसपछि नेपालतर्फबाट पहिचान गरी सम्बन्धित परिवारसम्म शव पुर्याउने प्रक्रिया अघि बढाइनेछ।
यसैबीच, भारततर्फ पुगेका आफन्तको खोजीमा कुशीनगर आउने नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) स्थापना गरेको जनाएको छ।
नेपालमा आएको बाढीपछि नारायणी नदी हुँदै भारततर्फ बगेका शवहरू विभिन्न स्थानमा भेटिन थालेका छन्। प्रशासनले नदी आसपासका क्षेत्रमा खोजी अभियानलाई निरन्तरता दिएको जनाएको छ।






