काठमाडौं, भदौ १६ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दल, नागरिक र राज्यका निकाय एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै ठाकुरले भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको स्मरण गर्दै विपद्को सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताएका हुन्।
ठाकुरले अहिले देश ठूलो विपद्को अवस्थामा रहेको उल्लेख गर्दै यो विपद् मानवीय व्यवहारबाट सिर्जित भए पनि प्रकृतिबाट आएको आपत्ति भएको बताए।
‘यो ठूलो विपद् हो। मानवीय व्यवहारका कारण सिर्जित भए पनि प्रकृतिद्वारा आएको आपत्ति हो,’ उनले भने, ‘विपद्ले देशलाई पूरै एकताको सूत्रमा बाँधिदिएको छ।’
उनले नेपालले आफ्नै स्रोत, साधन र क्षमताको प्रयोग गरेर विपद्को सामना गर्न सक्ने बताए। विपद् व्यवस्थापनका लागि नेपाल आफैं सक्षम रहेको उल्लेख गर्दै उनले आवश्यक तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
ठाकुरले विपद्को समयमा नेपाललाई सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभारसमेत व्यक्त गरे। विदेशमा रहेका नेपालीहरू पनि विपद्का बेला एकजुट भएर सहयोगमा जुटेको उनले बताए।
उनका अनुसार विपद्को यस कठिन घडीमा राष्ट्रिय एकता र सहकार्यलाई थप बलियो बनाउँदै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्ष सक्रिय हुन आवश्यक छ।






