नयाँदिल्ली, भदौ १६ । उत्तराखण्डको हल्द्वानी मा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको सभापछि भएको भनिएको ‘शुद्धीकरण’ घटनालाई लिएर सुरु भएको विवाद अहिले कानुनी र राजनीतिक दुवै रूपमा चर्किएको छ। घटनालाई लिएर लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीविरुद्ध एफआईआर दर्ता भएपछि कांग्रेस र भारतीय जनता पार्टी ९भाजपा०बीच आरोप–प्रत्यारोप तीव्र भएको हो।
राहुल गान्धीले हल्द्वानीको रामलीला मैदानमा खड्गेको सभापछि गरिएको भनिएको शुद्धीकरणको विरोध गर्दै घटनालाई जातीय भेदभावसँग जोडेर सम्बन्धित व्यक्तिविरुद्ध कारबाहीको माग गरेका थिए। त्यसपछि अनुसूचित जाति समुदायका अमित कुमारको उजुरीका आधारमा हल्द्वानी कोतवालीमा राहुलविरुद्ध एफआईआर दर्ता गरिएको हो।
प्रहरीले राहुलविरुद्ध भारतीय न्याय संहिताका विभिन्न धारासहित अनुसूचित जाति तथा जनजाति ९अत्याचार निवारण० ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। उजुरीकर्ताले राहुलको अभिव्यक्तिले अनुसूचित जाति समुदायको भावनामा चोट पुगेको आरोप लगाएका छन्।
एफआईआरपछि कांग्रेसले कारबाहीको विरोध गर्दै यसलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेको छ। कांग्रेसका नेताहरूले घटनाबारे आवाज उठाउने व्यक्तिमाथि नै मुद्दा चलाइएको भन्दै सरकारको आलोचना गरेका छन्।
कांग्रेसका वरिष्ठ नेता सचिन पायलटले ‘न्याय माग्नु अपराध हो ररु’ भन्दै एफआईआरमार्फत न्यायको आवाज दबाउन नसकिने बताएका छन्। उनले घटनालाई लिएर भाजपा तथा सरकारमाथि समेत प्रश्न उठाएका छन्।
कांग्रेसले खड्गे दलित समुदायबाट आएको कारण उनको सभापछि कार्यक्रमस्थलको ‘शुद्धीकरण’ गरिएको आरोप लगाउँदै आएको छ। पार्टीका नेताहरूले यसलाई जातीय भेदभावको विषय भएको दाबी गरेका छन्।
उता भाजपाले भने कांग्रेसको आरोप अस्वीकार गर्दै राहुल गान्धीले राजनीतिक लाभका लागि घटनालाई अनावश्यक रूपमा जातीय मुद्दा बनाएको आरोप लगाएको छ। भाजपाले कांग्रेसभित्रकै राजनीतिक परिस्थितिसँग जोडेर राहुलको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ।
यस विवादसँगै उत्तराखण्डको राजनीति थप तातेको छ। राहुल गान्धीविरुद्ध एफआईआरको विरोधमा कांग्रेसले प्रदर्शनसमेत घोषणा गरेको छ।
हल्द्वानीको रामलीला मैदानमा भएको भनिएको ‘शुद्धीकरण’ घटनाबाट सुरु भएको विवाद अब एफआईआर, राजनीतिक आरोप–प्रत्यारोप र विरोध प्रदर्शनसम्म पुगेपछि घटनाले थप राजनीतिक रूप लिएको छ।






