जसपा कार्यकारिणी बैठक आजदेखि, पार्टी समायोजनको खाका मुख्य एजेण्डा



जनकपुरधाम, भदौ १६ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ। बैठकमा पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनालाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ।

जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठक दुई दिनसम्म सञ्चालन हुनेछ।

पार्टीका केन्द्रीय महासचिव डा. सुरेन्द्रकुमार झाका अनुसार बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नुका साथै प्रदेशदेखि स्थानीय तहसम्म पार्टी संगठनको समायोजन गर्ने खाका तय गरिनेछ।

बैठकमा प्रदेश, जिल्ला तथा स्थानीय तहका पार्टी संरचनाको समायोजनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ। त्यसैगरी भ्रातृ संगठनहरूको समायोजनका विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।

विभिन्न राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्यका लागि अघि बढाइएको अग्रगामी मोर्चा निर्माणको विषयमा समेत कार्यकारिणी समितिमा छलफल हुने महासचिव झाले जानकारी दिए।

त्यस्तै पार्टीको संसदीय बोर्ड गठन र केन्द्रीय कार्यकारिणी सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव पनि बैठकमा पेश गरिनेछ।

हालैका बाढी तथा विभिन्न विपद्बाट प्रभावित नागरिकका लागि राहत संकलन गर्ने विषयलाई पनि बैठकको एजेण्डामा समेटिएको छ।

जसपा नेपालले बैठकमार्फत पार्टीको राजनीतिक तथा संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउँदै आगामी राजनीतिक गतिविधिका लागि आवश्यक रणनीति तय गर्ने तयारी गरेको छ।

बैठकमा प्रस्तुत विभिन्न प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने पार्टीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार ०७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको